नवराज ढुङ्गाना
हामी नेपालीलाई सधैं बिहान बेलुकी टन्न अघाउन्जेल दालभात नै चाहिएपनि, विदेशी परिकार नचाख्ने चाहिँ कमै छौं ।
हामी नेपालीलाई सधैं बिहान बेलुकी टन्न अघाउन्जेल दालभात नै चाहिएपनि, विदेशी परिकार नचाख्ने चाहिँ कमै छौं ।
त्यसमाथि, केही विदेशबाट भित्रिएका परिकार त पछिल्लो समय केही नेपालीको दालभात जस्तै बनिसकेका छन् । कोहीले अरुलाई देखाउनकै लागि त्यस्ता परिकार खान्छौं भने कोहीले काम बिशेषमा जाँदा र जिब्रो फेर्नका लागि ।
तिब्बतीमूलबाट केही दशक अघि नेपाल भित्रिएका मःम, चाउमिन लगायतका परिकार अहिले नेपालमा शहरका स्टार होटेलदेखि पहाडका चियापसल र हिमालका भान्छा भान्छासम्म पाक्न थालेका छन् । पकाउन त्यति सारो मेहनत गर्नु नपर्ने र सहजै स्थानीय बजारमा पनि पाईने अनि जिब्रो र पेटलाई पनि भरपूर सन्तोष हुने भएपछि, मकैका ठेला र गहुँको ताप्केरोटी अहिले धेरैले बिर्सिसक्यौं होला ।
हुन त प्रसङ्ग मःम को हो । रहरले ३ बर्षअघि बनाएको ब्लग धेरै समयपछि, यहि मःम ले भर्ने प्रयास पनि हुने सोचेर लेख्न थालेँ । भूमिका बाँध्दै जाँदा यहाँसम्म आईपुगे पनि अब भने प्रसङ्गतिरै लागौं ।
कुरो हो दोश्रो पटक संविधान बन्ने भनेर मिति तोकिएको साल अर्थात्, २०७० सालको असोज महिनाको (अपडेट नहुने ब्लग दुई तिन बर्षपछि पढ्ने पाठकलाई भ्रम नहोस् भनेर यसो भनेको) । सधैंभरी रकम रकमका मेला र महोत्सव हुने पोखरामा पहिलोपटक मःम मेला हुने हल्लाले ३/४ महिना पहिल्यैदेखि पोखरा पिटेको थियो । कहाँ र कहिले हुन्छ, भनेर हप्तैपिच्छे जसो सोधिखोजी पनि गरियो । समाचार पनि बनाईयो, पढियो र अरुलाई पनि पठाईयो ।
मःम मेला हुँदैछ भनेर आयोजक ट्रेनर नेपालले गरेको विज्ञापन पनि सुनेकै हो । सि, ग्रिन, फिस, केरा, आलु, ससेज, चिल्ली, पनिर, तिब्बतियन, पोर्क, चिकेन, मटन, बफ, भेज लगायतका १५ प्रकारका मःम पाईने विज्ञापन पहिल्यैदेखि सुन्दा लौ मःम रोजेर खान पाईने भो भनेर मनमनै दङ्ग हुन्थेँ ।
हुन त मःम जति धेरै थरि बन्छन्, प्रायः मासुबाटै । म जस्ता शाकाहारीले मःम खानुपरो भने हत्तपत्त रहर नमेटिने । किनकी धेरैजसो होटल रेष्टुरेण्टमा भेज मःम बन्दैनन् । कहिलेकाहीँ खाजा खान जाँदा साथीहरुले मःम मगाएर खाए भने आफू कि त समोसा कि त भेज चाउमिनमा चित्त बुझाउनुपर्ने । होटलवालाले मेरै लागि भएपनि एक प्लेट भेज मःम बनाईदिए हुन्थ्यो नि भन्ने लाग्थ्यो । तर मेरा लागि होटल खोल्या भए पो मैले जे खोजेँ त्यहिँ पाउँथे ।
मेलामा केरा, आलु, पनिर, चिल्लीबाट बनाईने मःम भनेपछि, लौ मैले पनि रोजेर मःम खान पाउने भएँ भनेर गमक्क परियो । पनिर र आलुको मःमको स्वाद पहिले नै लिईसकेको भएपनि केराको मःम चाहिँ चाख्ने अवसर मिलेको थिएन । तर सुनेको चाहिँ थिएँ ।
पोखराको पृथ्वीचोकमा रहेको पोखरा मलमा असोज ४ गते मःम मेला सुरु भयो । लौ मःम को नयाँ स्वाद चाखौं भनेर अफिसमा सँगै काम गर्ने साथीहरु प्रकाश ढकाल, सुमन थापा र म भएर ३ जना मःम मेलातर्फ लाग्यौं । तर जस्तो सोचेर गईयो त्यस्तो थिएन मेला । सामान किनबेच हुने मलभित्रको खाली ठाउँमा १५/२० वटा मःम बनाउने पसल थिए । साँघुरो ठाउँको अघिल्तिर स्टेज कार्यक्रममा केही कलाकार गित गाउँदै थिए । चहलपहल पनि खासै थिएन । स्टलैपिच्छे, लेखिएको थियो, यहाँ केराको मःम, यहाँ पनिरको मःम, यहाँ मटन, यहाँ चिकेन आदी आदी ।
मेलाभित्र छिर्नेबित्तिकै सुमन थापा मिलिक्क गरिहाले । बाँकी रह््यौं प्रकाश र म । अब आईसकेपछि, मःम त खानै परो । खान त खाने तर कुन मःम खाने । एकैछिन चहारेपछि, दुवैजनाले केराको मःम खाने निधो गर्यौं । यसअघि केराको अचार र पाकेको केरा सिङ्गै खाएको अनुभव त थियो । तर केराको मःम खाएको अनुभव भने थिएन । एउटा होटलको स्टलमा पस्यौं । नाम चाहिँ याद भएन ।
स्टल अगाडी एकजना भर्खरका भाई थिए । भाई मःम खाउँ न भनेको कुन चिकेन कि केराको भने । केरा भनेपनि चिकेनको पनि पाईंदो रहेछ भनेर केराको मगायौं । केराको मःम खाने कौतुहलताले करिब २० मिनेट यत्तिकै बित्यो । कौतुहलताको २० मिनेटभित्र केराको स्वाद र मःमको मूल्य कति होला भनेर दर्जनौं चोटी आँकलन भैसकेको थियो ।
भर्खरै भाँडोबाट निकालेर मःम सालको टपरीका गोलेंडाको चटनी र बाँसको दुई वटा टुक्रा टेबुल अघिल्तिर आईपुग्यो ।
लाग्यो काँचो केराको तरकारी पकाएर मैदाको पिठोभित्र हालेपछि, केराको मःम त्यहि होला भन्ने । न त हाम्रो स्वादको आँकलन मिल्यो न त केराको मःम को मूल्यको सहि आँकलन नै हुन सक्यो ।
हत्तपत्त सिन्कोमा उनेर तात्तातो मःम फू फू गर्नुभन्दा पहिले नै मुखबाट निस्केको पानी पेटमा पुगिसकेको थियो ।
“दाई मःम त गुलियो छ त ।” प्रकाशले भन्न नपाउँदै मैले पनि मुखमा हालिहालेँ ।
तर अनौठो लाग्यो । मःम त गुलियो छ । काँचो केरामा आलु, बन्दा, काउली मिसाएर पकाएको अनि नुनपिरो ट्वाक्क परेको होला भन्ने लागेको थियो केराको मःम । तर होईन रहेछ । पाकेको केरा गिछिल्थाएर प्याजको टुक्रा मोलेर मैदाभित्र हालेर भाँडोमा राखेपछि, केराको मःम तयार ।
चुपचाप खाएर पैसो तिरियो । अनि बाहिर निस्केपछि, केराको मःम को बखानले हाँसोको फोहोरा छुट्यो । मःम खाँदा पोलेको मुख ४ घण्टासम्म झन्झनाउँदा त्यहि मोरो केराको मःम अझैपनि झल्झल्ती अघिल्तिर आईरहन्छ ।
धत्, अझसम्म जाबो केराको मःम खान नपाएका हामी खानाका परिकारमा कति पछाडी रहेछौं भन्ने लाग्यो ।
अझसम्म केराको मःम खाको थिनस् भन्ने कुरो आयो भने मुन्टो हल्लाउनुपर्ला भनेर अरुलाई त भनिएन । तर नलेखि औंला र मनले धर नदिएपछि, तपाईंहरुलाई चाहिँ पढ्न बाध्य बनाएरै छाडेँ ।
मासु खान चाहिँ किन छाडियो त ? अर्को ब्लगमा प्रयास गर्नेछु ।
तपाईको लेख पढेर मलाई भने गतवर्ष चितवन महोत्सवमा केराको मःमः खाएको याद आयो । सायद मःमः खानकै लागी अझै एकवर्ष कुर्नुपर्छहोला,,किनकी त्यसवेलाको महोत्सवमा सवैभन्दा बढि आर्कषणको केन्द्र नै केराको मःमः थियो । साह्रै मिठो अनि स्वादिलो थियो । तर गुलियो भने थिएन । काँचो केराबाटै बनाएको थियो अनि त्यत्तिमात्र होईन कि केराकै चिप्स , अचार , पकौडा लगायत विभिन्न परिकार पनि रहेको थियो ।
ReplyDelete