"म जबरजस्ति अगाडी बढ्न खोजेँ, ‘छैन मसित पैसा, के को पैसा ....... ।’ अर्कोले भन्यो ‘ओई साले पैसा दे भनेको सुनिनस् ।’ अब चाहिँ बित्यास पर्यो भनेर हिँडाईको चाल बढाउन खोजेँ । दुईजनाले पछाडीबाट च्याप्प हात समाईहाले ।"
सधैं रेडियोबाट समाचार पढेर निस्किँदा बेलुकीको साढे ९ बजिसकेको हुन्थ्यो । तर त्यो दिन (२०६७ माघ १७ गते) सहकर्मि साथी दिनेश आचार्यले बेलुकी साढे ८ बजेको समाचार पढ्ने भएपछि, म साँझ साढे ७ बजे नै अफिसबाट निस्किएँ । अफिस पोखराको सभागृहचोकमा थियो तर म बस्ने चाहिँ प्रस्याङ्गमा । पुस माघको समय साँझ ५ बज्दा नबज्दै अँध्यारो हुन थालिहाल्छ । त्यो दिन पनि गर्मियाममा डाँडैमाथी देखिने घाम पृथ्वीको अन्तराभित्र बिलाईसकेको थियो । पोखरामा लामो दिनमा जसोतसो सात, सवा सात बजेसम्म गाडी चलेपनि जाडो याममा भने साँझ ६ बजेपछि नै गाडी पाउनै मुश्किल पर्छ । आफूसँग साथमा साधन नभएकाले बेलुकीको समाचार पढ्ने दिन प्रायः म हिँडेरै घर पुग्थेँ । कहिलेकाहीँ साथीभाईले बाटो उहि पर्ने भएकाले घरसम्म पुर्याईदिन्थे, तर त्यो दिन कोही भएनन् । सभागृहचोकबाट घरसम्म पुग्न कस्सिएर पैदल हिँड्ने हो भने कम्तिमा पनि २० मिनेट लाग्छ । त्यो दिन पनि घरसम्मको मेरो यात्रा सुरु भयो, पोखराको न्यूरोडको सडक पेटी हुँदै ।
साँझ छिप्पिसकेको थियो । जाडो मौसम भएकाले न्यूरोडको सडक पेटी छेउमा झिँझा र कागज, प्लाष्टिक पोल्दै आगो ताप्नेहरु र काम बिशेषले हिँड्नेहरुको बाहेक खासै चहलपहल थिएन । दिउँसो घरबाहिर निस्किँदा घामले रनक्क राप दिएपनि साँझबिहान भने मुटु थरथरी काम्ने जाडो उस्तै थियो । जाडो र भोकले कतिबेला घर पुगुँ भन्ने हतारोले खुट्टा बाटोमै टुक्रुटुक्रु गरिरहे पनि मन भने तातो तरकारीको झोल र न्यानो सिरकभित्र गुटुमुटु हुन पहिल्यै घर पुगिसकेको हुन्थ्यो । जाडोको बेला अलिकति छिटो छिटो शरिर मरक मरक गर्दै हिँड्यो भने ज्यान तातेर न्यानो हुने भएकाले पनि म पाईला अलि छिट्टै चाल्ने प्रयासमा थिएँ । दैनिक १२, १४ घण्टाको लोडसेडिङ्गले न्यूरोडका बिजुलीका पोलमा झुण्डिएका बिजुलीका बल्व सडकमा गुडिरहेका मोटरगाडीका हेडलाईटले घरिघरि टल्किन्थे मात्रै, तर बल्दैनथे । बाटो सिधा पर्ने भएकाले घर जाँदा म सधैं अहिलेको भाटभटेनी सुपरमार्केट (त्यतिबेला भाटभटेनी निर्माणाधीन अवस्थामै थियो) र कुमारी बैंकको बिचको गल्लिबाट गणेशटोल हुँदै प्रस्याङ्गसम्म निस्किन्थिेँ ।
बेलुकी बाटोमा एक्लै हिँड्दा साथी पनि हुने र एक्लो महसुस नहुने भएकाले प्रायः घाँटिबाट छिराएर ज्याकेटभित्रबाट पाईन्टको खल्तिभित्र मोबाईलको डोरी झुण्डिएकै हुन्थ्यो । तर त्यो दिन हेडफोन घरमै छुटेकाले मोबाईलमा रेडियो सुन्न पाएको थिईन । साथमा सँगै बजिरहने साथी नभएर पनि होला कुमारी बैंक र भाटभटेनी सुपरमार्केबाट भित्रपट्टिको गल्लि छिर्ने बित्तिकै एकान्त ठाउँमा आङ्ग सिरिङ्ग भएर आयो । अरुबेला रातिमा एक्लै हिँड्न डर नलाग्ने मलाई त्यो दिन भने कता कता छिस्रिक्क परेपनि भित्रैबाट आँत कामिरहेको थियो । यसो खल्तिबाट मोबाईल निकालेर हेरेँ । साँझको ८ बज्न अझै केही मिनेट बाँकी नै थियो । तैपनि बाटो भने पूरै सुनसान भईसकेको थियो । बाटोमा हिँड्दा केही घरमा गुनगुन गरेको र टिभि बजेको आवाज सुनिन्थ्यो । मन बोल्यो ‘गर्मिमा भएको भए यतिबेला सबै मान्छे बाहिर निस्केर शितल तापिरहेका हुन्थे । मलाई रात बिरात हिँड्न पनि सजिलो हुन्थ्यो ।’ न्यूरोडबाट केही मिनेट हिँडिसकेपछि सिमलचौर, सिद्धार्थचोक र प्रस्याङ्ग निस्कने चौबाटोमा आईपुगेँ । एउटा मोटरसाईकल सिद्धार्थचोकबाट सिर्जनाचोकतर्फ बत्तिँदै कुदिरहेको थियो । सोचाई न हो ‘यो जाडोमा मेरो पनि एउटा यस्तै मोटरसाईकल भैदिए म पनि यसैगरि बत्तिँदै कुदाउँथे ।’
एक्लै भएपछि, मनमा सधैं हुने नहुने कुरा खेल्छन् । घर पुग्न अझै १०/१२ मिनेट हिँड्नैपथ्र्यो । अरु दिन मोबाईलमा रेडियो बजाउँदै हिँड्दा आएको डर त्यहि रेडियोको आवाजले भगाउँथ्यो । तर आज भने डर पनि आफूसँगै लुुखुर लुखुर हिँडिरहेको थियो । न्यूरोडदेखि झण्डै ५ सय मिटरको दूरी पार गरुन्जेल सडकमा हिँड्ने त्यहि बत्तिँदै कुदेको मोटरसाईकल बाहेक कोही भेटिएनन् ।
वनको बाघले नखाए पनि मनको बाघले खाईसकेको थियो, फिर्केखोलाको झ्याम्ल्याङ्ग बाँसको झाडी नजिकै पुग्दा । अरुदिन केही चहलपहल भैरहने खोला छेवैको सोपाल तमु समाजको भवन र नजिकैको शिव मन्दिर त्यो दिन पूरै सुनसान थिए । अलि पर माथी आकाशमा रेडियो नेपाल क्षेत्रिय प्रसारण केन्द्रको अग्लो टावरमा घरिघरि रातो बत्ति पिलिक पिलिक बलिरहेको देखिन्थ्यो । फिर्केखोलाको झ्याम्ल्याङ्ग बाँसको झाडी मुन्तिरै के पुगेको थिएँ । अगाडीबाट आईरहेका ३ जना यूवाहरु सुनसान बनेर टक्क अडिए । मान्छे त हुन् नी के गर्लान् र भन्ने सोचेर म सुईं सुईं अघि बढ्न खोजेँ । ती ३ जना मध्येको बिचको केटो मेरो सिद्दै अघिल्तिर आएर पेल्लिन खोज्यो । म अलि टाढिन खोजेँ । बाँकी दुईजना छेउतिरबाट छेक्न थाले झैं गर्न लागे । मनमा चिसो पस्यो । त्यो सबैभन्दा पहिले पेल्लिन आउनेले मुख खोल्यो ‘दाई पैसा देउ न, दाई पैसा देउ न ।’ म जबरजस्ति अगाडी बढ्न खोजेँ, ‘छैन मसित पैसा, के को पैसा ....... ।’ अर्कोले डरै लाग्ने तरिकाले भन्यो भन्यो ‘ओई साले पैसा दे भनेको सुनिनस् ।’ अब चाहिँ बित्यास पर्यो भनेर हिँडाईको चाल बढाउन खोजेँ । दुईजनाले पछाडीबाट च्याप्प हात समाईहाले । सकेको बल लगाएर फुत्किन खोजेँ । बेस्सरी चिच्याउन मनलाग्यो, तर मरिगए आवाज निस्किएन । ‘साले अझै बढि हुन्छस्, चुपचाप जे जे छ दिन्छस् कि यसैले सिध्याईदिउँ ?’ अर्कोले चक्कु देखायो । अघि नै मनको बाघले लखेटिरहेको मलाई ति भुस्तिघ्रेहरुले सकेको बलले अँठ्याउन थालेपछि, मनको बाघले साँच्चिकै खाईसकेको थियो । केही बोल्न सकिन । ४ बर्षअघिको त्यो समय म ४८/५० किलो जतिको हुँदो हुँ । मलाई अँठ्याउने कम्तिमा नि ६५/७० किलोका भुस्तिघ्रे हुनुपर्छ । तिन्का अघिल्तिर म लुरेको के लाग्थ्यो र ? दुईजनाले चल्बलाउनै नमिल्ने गरी हात पछिल्तिर लगेर बेस्सरी अँठ्याउन थाले भने अर्को भुस्तिघ्रेले ज्याकेट र पाईन्टको खल्तिमा जे जे छ सबै निकाल्न थाल्यो । प्रतिकार गरे, चिच्याए कुटाई खानुपर्ला, चक्कुले हान्लान् भन्ने डरले मुखबाट एक शब्द पनि निकाल्न सकिन । त्यो भुस्तिघ्रेले मलाई छामछुम पार्दा बढिमा एक मिनेट समय लाग्यो होला । त्यो समय म पूरै निरीह बन्न बाध्य थिएँ । मलाई मर्न भनेपछि, असाध्यै डर लाग्थ्यो र अहिले पनि लाग्छ । हे भगवान बरु नाङ्गै पारेर छोड, मार्न चाहिँ नमार, यति बाहेक अरु केही सोचेन यो दिमागले । सबै सामान लुटिसकेपछि, तिनिहरुले मलाई सकेको बल लगाएर भुईंमा थेच्याए । अनि म जुन बाटोबाट आएको थिएँ, उनीहरु त्यतैतिर दगुर्न थाले । म बल्लबल्ल उठेर चिच्याउन थालेँ । जे हुनु भैसकेपछि, चिच्याएर के काम । त्यस्तो ओडारजस्तो बाँसको झाडीमुनि चिच्याएर पो कस्ले सुन्ने ? मैले खल्ति छामेँ, टाटा ईन्डिका र नोकिया २७०० मोडलका गरी दुईवटा मोबाईल, पर्स, अफिसको सोनि कम्पनीको भ्वाईस रेकर्डर साथमा केही पनि थिएन । पर्समा पुग नपुग ५ हजारजति पैसा, किष्ट बैंकको एटिएम कार्ड, पेनड्राईभ र एनसेलको सिमकार्ड पनि थियो ।
चिच्याउँदै अलिकति अघिल्तिर एउटा पसलमा पुगेँ । एकजना महिला रहिछन् । मलाई देखेर उनी डराईन् । म लुटिएको बताएपछि, उनले आफ्नै मोबाईलबाट पुलिसलाई फोन गरिदिईन । एकैछिनमा ५/७ जना मान्छे जम्मा भैहाले । अँध्यारो भएकाले ती ३ जनामध्ये कसैको पनि मैले राम्रोसँग अनुहार र हुलिया देख्न पाईन । त्यहाँ जम्मा भएका मान्छेहरु ति लुटेराको पछि लागेर लखेट्न डराए, कारण यसअघि पनि रातमा हिँड्नेहरु त्यहि ठाउँमा पटक पटक लुटिँदा रहेछन्, र बचाउन जानेले धेरै पटक कुटाई खानुपरेछ । फोन गरेको १५ देखि २० मिनेट भित्र बल्ल पुलिस आईपुग्यो । त्यतिबेलासम्म त राम्रै दगुर्ने धावक भए ८/१० किलोमिटर टाढै पनि पुगिसक्थ्यो होला । त्यतिबेला आएको पुलिसको के काम ? पूरा गर्नुपर्ने कर्मकाण्ड पूरा गर्न सबै सोधिखोजी गरेर लुटेरा खोज्न थाले झैं गर्न थाल्यो पुलिसको त्यो टोली केहिबेर । हराएको धन कहिले पो फिर्ता आउँछ र ? धन्न गर्न चाहिँ केही गरेनन् । ज्यान चाहिँ सग्लै बाँच्यो । यसैमा खुशि लाग्यो पछि ।
सवारी साधनमै भएपनि रातको समयमा त्यो झ्याम्ल्याङ्गे ठाउँमा हिँड्दा अझैपनि डर लाग्छ । केही दिनअघि त्यहि बाटो भएर हिँड्दा देखेँ, पहिले बाँसको झ्याङ्ग नै झ्याङ्ग भएको ठाउँमा सबै बाँस फाँडेर अहिले खुल्ला मैदानजस्तै फराकिलो पारिएको रहेछ । मन फिस्स हाँस्यो ।
कहिलेकाहीँ त्यहि बाटो भएर हिँड्दा सम्झिन्छु, ति भुस्तिघ्रेहरुले मलाई यहिँ निर एकसातोसम्म शरिर दुख्नेगरी थेच्याएका थिए ।
४ बर्षअघि घटेको यहि घटनाकै कारण गरिरहेको काम गरुँ कि छोडुँ सोच्न बाध्य बनायो । रेडियोको काम छाडिदे भनेर घरबाट सबैको एकै स्वर आउन थाल्यो । परिवारबाट एकपछि अर्को गर्दै दिउँसोमात्रै गर्न मिल्नै थुप्रै कामका विकल्पहरु देखाईन थाले । पहिले काम छाड्न र पढाई पूरा गर्न दवाव आउन थाल्यो ।
काम छोड्दिन बरु, परिवारबाट एक्लै बस्छु भन्ने निर्णय लिएर भोलिपल्टैबाट घर छोडेर न्यूरोडमा कोठामा बस्न थालेँ । त्यसपछि, रातको समयमा त्यो बाटो कहिल्यै हिँडिन र त्यसपछि नै परिवारबाट कहिल्यै राम्रो हुन जानिन पनि । अहिले पनि धेरैले, सोध्छन्, पोखरामै घर भएको मान्छे किन पैसा तिरेर भाडामा बसेको ? भनेर । घर छाडेर कोठामा बस्न यसरी सुरु भएको मेरो यात्रा म बाट हामी हुँदा पनि उहि काम र उस्तै कोठामै अहिलेपनि चलिरहेको छ ।
story ta dami xa hai dai
ReplyDeleteLoved readinng this thanks
ReplyDelete