‘पत्रकार’ भन्नाले छापा, विद्युतीय तथा अनलाइनजस्ता कुनै पनि प्रकृतिका संचारमाध्यम वा समाचारमूलक कार्यक्रम उत्पादन, वितरण गर्ने, एजेन्सी वा संस्थामा समाचार सामग्रि संकलन उत्पादन, सम्पादन र सम्प्रेषण जस्ता कार्यसँग आवद्ध प्रधान सम्पादक, सम्पादक, सम्पादक मण्डलका सदस्यहरू, संवाददाता, स्तम्भ लेखक, स्वतन्त्र पत्रकार, फाटो पत्रकार, प्रेस–क्यामेरा पर्सन, व्यङ्ग्य चित्रकार, कार्यक्रम निर्माता तथा संचालक, साजसज्जा, दृश्य तथा भाषा सम्पादक जस्ता पत्रकारितामूलक कार्यसँग सम्बन्धित संचारकर्मीहरूलाई जनाउँछ ।
- पत्रकार आचारसंहिता २०६०
तर पत्रकार आचारसंहिताले अर्काले लेखेको समाचार हु बहु सारेर पत्रिका वा अनलाईनमा छाप्ने वा रेडियो टिभिमा पढ्नेलाई पत्रकार मानेको छैन । चाहे त्यो पत्रकार होस् या प्रशिक्षार्थी पत्रकार ।
पोखरामा भएका अधिकांश सूचनामूलक तथा औपचारिक कार्यक्रमको समाचार बनाएर सबै सञ्चारमाध्यमलाई ईमेल गर्ने चलन छ । एउटै व्यक्तिले लेखेर ईमेल गरेको समाचारलाई केही सञ्चारमाध्यमले काँटछाँट गरी मिलाएर प्रकाशन प्रसारण गर्छन् भने धेरैजसो सञ्चारमाध्यममा हु बहु प्रकाशन प्रसारण हुन्छ । कुनै व्यक्ति बिशेष वा संस्थाको प्रचारप्रसारका लागि सबै सञ्चारमाध्यमले समाचार प्रकाशन प्रसारण गरिदिँदा कार्यक्रम आयोजकलाई त फाईदा हुन्छ नै समाचार नपाएर सबै राष्ट्रिय अन्तराष्ट्रिय समाचारले भरिने स्थानीय पत्रपत्रिका तथा एफएमलाई त झनै खुराक हुने नै भयो ।
कुनै महत्वपूर्ण कार्यक्रम भयो र त्यहाँ सबै पत्रकार पुग्न सकेनन् भने एउटाले आफ्नै पारामा लेखेर सबैलाई सिसि र बिसिसि गरिदिएर अन्य पत्रकारलाई गरेको सहयोग ठूलो मान्नुपर्छ । कमसेकम उसले जानकारी त दियो । तर सिसि र बिसिसि गरेको ईमेल देख्दा देख्दै पनि पोखराका सबैजसो सञ्चारमाध्यममा जस्ताको तस्तै समाचार सारेर प्रकाशन प्रसारण हुन्छन् ।
ईमेलबाट सिसि र बिसिसि भएर आएको समाचार जस्ताको तस्तै सार्दा अरु पत्रिकामा पनि यसैगरी एउटै समाचार एउटै तरिकाले आउला भन्नेसम्म डेस्क ईडिटर र सम्पादकले हेक्का राख्दैनन् ।
सबै पत्रिकामा हु बहु एउटै समाचार क देखि ज्ञ सम्म छापिँदा पाठकले के भन्छन् भन्नेमा डेस्क ईडिटर र सम्पादकलाई त्यो मतलब हुँदैन । पत्रिकाको पाना जो भर्नुछ, जसरी सुकै होस् ।
अझ प्रशिक्षार्थी पत्रकारको मौसममा त त्यसरी नै एउटा पत्रकारले सिसि गरिदिएको समाचार भोलीपल्ट दर्जनौं पत्रिकामा छुट्टाछुट्टै प्रशिक्षार्थी पत्रकारको बाईलाईन भएर आउँछ ।
सहयोगको भावनाले सबै पत्रकारलाई जानकारी होस् र आफ्नै तरिकाले काँटछाँट गरुन् वा समाचार लेखुन् भनेर पठाईदिएको समाचार भोलीपल्ट छुट्टाछुट्टै पत्रिकामा छुट्टाछुट्टै बाईलाईनमा जस्ताको तस्तै आउँदा समाचार लेख्ने त्यो पत्रकारलाई कति रिस उठ्दो हो, तपाईं आफैं विचार गर्नुहोस् ।
आमसञ्चार तथा पत्रकारिता अध्ययन गरिरहेका स्नातक तहका विद्यार्थीले कुनै पनि सञ्चार माध्यममा गएर एक वा दुई महिना कार्यमूलक पत्रकारिता अर्थात् ईन्टर्नसिप गर्नुपर्छ । अध्ययन गरिरहेको क्याम्पसबाट समाचार सिक्नका लागि भनेर विभिन्न सञ्चार माध्यममा आउने विद्यार्थीहरुले कुनैपनि बिषयमा दैनिक कम्तिमा एउटा समाचार लेखेर एक महिनासम्मको प्रतिलिपी प्रमाणका रुपमा बिषयगत शिक्षकलाई बुझाउनुपर्छ ।
तर पोखराका सञ्चारमाध्यममा सिक्नका लागि आएका अधिकांश प्रशिक्षार्थी पत्रकार आफैंले समाचार लेख्दैनन्, न त उनीहरु लेख्न सिक्ने प्रयास नै गर्छन् । अरुले लेखिदिएका समाचार डेस्क ईडिटरलाई कन्याई कन्याई आफ्नो बाईलाईन राखेर पत्रिकामा छाप्न पाएपछि, लेख्ने र सिक्ने प्रयास नै किन गर्नुपर्यो र । भोलीपल्ट फूर्तिका साथ अरुलाई आफ्नो बाईलाईनसहितको चोरेको समाचार देखाउन पाए भईहाल्यो ।
एउटै समाचार धेरै विद्यार्थीका नाममा आउँदा सम्बन्धित विद्यार्थीका बिषय शिक्षकले त्यसप्रति चासो दिनुपर्ने हो । शिक्षकहरुले पनि केवल औपचारिकता मात्र पुरा गर्ने गरेका छन् ।
अन्य परीक्षामा एउटाले लेखेको उत्तर अर्कोले हु बहु सारेको छ भने हु बहु सार्नेलाई कार्वाही भएजस्तै अर्काले लेखेको समाचार हु बहु आफ्नो नाममा लेख्नेलाई कावार्ही हुनुपर्ने हो । तर त्यसो नहुँदा विद्यार्थीमा अल्छिपना बढेको छ ।
यस्तो घटना वा कार्यक्रम भएछ, भन्ने थाहा पाएपछि, पत्रकारको काम सोधीखोजी गरेर आफैंले समाचार लेख्नु हो । अरुले लेखिदिएको समाचार आफ्नो बनाएर छाप्ने होईन ।
जस्ताको तस्तै राख्नैपरे कि त यस्ता समाचारको श्रोत उल्लेख गरेर राख्न सकिन्छ नभए पनि एंगल परिवर्तन गरेर काँटछाँट गरिदिए भोलीपल्ट सबै पत्रिकामा एउटै समाचार त आउँदैन ।
पत्रकारिता नै गर्छु भन्ने उद्धेश्यले पत्रकारिता पढेका विद्यार्थीले सिक्ने बेलामा त समाचारको स सम्म पनि नजानिकन पास हुन्छन् भने उनीहरुको सिकाई उपलब्धि कसरी होला ?
यसरी अर्काले लेखेको समाचार प्रशिक्षार्थी पत्रकारको नाममा छापिँदा नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलले केही गर्छ की गर्दैन ?
समाचार र शिर्षक एउटै तर छुट्टाछुट्टै बाईलाईन सहित पोखराका विभिन्न पत्रपत्रिकामा छापिएका समाचारको उदाहरण हेरौं ।
साउन १३ गते पोखराबाट प्रकाशित भएका दुई पत्रिकामा एउटै समाचार छुट्टाछुट्टै नाममा प्रकाशन भएका थिए ।
साउन १३ गतेको आविस्कार दैनिक
साउन १३ गतेको आदर्श नेपाल
साउन १४ गते पनि पोखराबाटै प्रकाशित भएका दुई पत्रिकामा एउटै समाचार छुट्टाछुट्टै नाममा प्रकाशन भएका थिए । साउन १४ गतेको आविस्कार दैनिक
No comments:
Post a Comment